काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूलो पार्टी बनाउने नाममा अस्वभाविक सम्झौता गरेर आफूले गम्भीर भूल गरेको स्वीकारेका छन्।
राप्रपा नेपालको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा थापाले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गरेका हुन्।
‘५ वर्ष हामीले बाटो बिरायौं। पार्टी ठूलो बनाउने नाममा अस्वभाविक सम्झौता गर्यौं। त्यो हामीले गम्भीर भुल गरेका थियौं। यो ५ वर्षको अलमलमा हामीले आफ्नो पहिचान गुमायौं। राप्रपा नेपाल पार्टीको नाम गुमायौं। हामीले लोकप्रिय चुनाव चिह्न गाई गुमायौं। बाटो बिरायौं। गल्ती गर्यौं,’ उनले भने, ‘आज पुनः राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा औपचारिक घोषणा गरिरहँदा सबै दाजुभाइ दिदीबहिनी समक्ष विगतमा गरेको गल्तीका निम्ति माफी माग्न चाहन्छु। जुन गलत सम्झौता गर्यौं त्यसको परिणाम हामीले भोगिसकेका छौं। मबाट पनि धेरै गल्ती भए। गम्भीर राजनीतिक भूल भयो।’
उनले अब राप्रपालाई सशक्त पार्टीका रुपमा अघि बढाएर लैजाने उद्घोष पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।