काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुटाएको दाबी गरेका छन्। आफूले पुरानो पार्टी (राप्रपा नेपाल)लाई पुनर्जागृत गरेको थापाको दाबी छ।
शनिबार राप्रपा नेपालको 'घोषणा सभा'लाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
‘०७६ फागुनमा महान ग्रन्थ गीता छोएर मैले राप्रपा कहिले नफुटाउने कसम खाएको सम्झना छ। धार्मिक र आध्यात्मिक राप्रपा मैले फुटाएको होइन। मैले चाहेको भए अहिले पनि राप्रपामा हामीप्रति स्नेह, सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्य हुनुहुन्थ्यो,’ उनले भने, ‘साथीहरुले विधान र कानुन बमोजिम ४० प्रतिशत पुर्याएर पार्टी फुटाउँ भन्ने सल्लाह पनि दिनुभएको थियो, तर मैले चाहेनँ। पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्नेमा म विश्वास राख्दिनँ।’
उनले राप्रपामा आफ्नो एउटा सामान्य मागलाई रद्दीको टोकरीमा फाल्ने काम भएको र एकपक्षीय र पूर्वाग्रह हिसाबले पार्टी सञ्चालनको काम भएपछि आफूले पार्टी छोडेको बताए।
‘हामीलाई पाखा लगाएर पार्टी चलाउने काम भयो। सैद्धान्तिक रुपमा राप्रपामा विचलन हुन थाल्यो। संगठनात्मक रुपले गलत प्रवृति हाबी हुन थाल्यो,’ उनले भने, ‘मेरा अघि दुई वटा विकल्प थिए जे भयो भयो राजनीतिबाट विश्राम लिएर बस्ने र अर्को कुनै पार्टीमा बस्ने।’
उनले आफूलाई राजनीतिक रुपमा नै समाप्त गर्ने प्रयास भएपछि वाध्य भएर राप्रपा छोडेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।