फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुराकानी पनि नमिल्ने भएपछि गठबन्धन जोगाउन बल गर्नुको औचित्य नरहेको बताएका छन्। शुक्रबार संसद् बैठकपपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले कुराकानी मिलेका कारण गठबन्धन बनेको बताउँदै नमिलेको अवस्थमा टुटाउनु स्वाभाविक रहेको बताए। उनले भने, ‘गठबन्धन किन बन्यो, कुराकानी मिलेर बन्यो। कुराकानी नमिले गठबन्धन चल्दैन। कुराकानी नमिल्ने तर गठबन्धन चलिराख्ने भन्ने हुँदैन।’
उनले आफूहरु फरक–फरक राजनीति दल रहेको नबर्सिन आग्रह गर्दै सँगै हिँड्ने विश्वास भएर एक ठाउँ आइपुगेको उल्लेख गरे। अहिले एमसीसीको विरोधमा जनतमत छ भनेर गठबन्धनका अन्य दल त्यता लाग्ने तर कांग्रेसलाई मात्रै भारी बोकाउने कार्य सह्य नहुने बताए।
उनले थपे, ‘अहिले सिंगो नेपालको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ। यस्तो अवस्थामा हामी एक ठाउँ उभिएर यसलाई अघि बढाउँ भनेको हो। तर, कांग्रेसलाई मात्रै भारी बोकाउने कुरामा हाम्रो आपत्ति छ।’
२०७६ माघ २५ गते केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला माओवादी केन्द्र पनि सरकारमा रहेको थापाले स्मरण गराए। उनले भने, ‘त्यतिबेला यही एमसीसी संसद्मा टेबल गर्दै गर्दा किन उनीहरुले विरोध गरेनन्। त्यही मन्त्रिपरिषद्मा विना मगर, वर्षमान पुन, शक्ति बस्नेत मन्त्री थिए। किन उनीहरुले राजीनामा दिएनन्?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।