काठमाडौं- सत्ता गठबन्धनको शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने सम्बन्धमा सहमति जुट्न नसकेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८ गते १० बजे पुनः बैठक बस्ने र सो बैठकपछि आफूहरु एउटा निष्कर्षमा पुग्ने बताए। 'एमसीसी परियोजनालाई सार्वभौम संसद्मा छलफल गराएर एउटा निष्कर्षमा पुर्याउने विषयमा नै आज संक्षिप्त बैठक भएको छ। अर्को बैठक ८ गते बिहान १० बजे बसेर हामी यसलाई निर्णयमा पुर्याउने छौं,' उनले भने।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी आजकै बैठकमा टेबल गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर माओवादी केन्द्रले भोलि माओवादीको स्थायी कमिटी बैठक भएकाले आफ्नो पार्टीको निर्णयका लागि देउवासँग समय मागेको थियो। त्यस्तै, एकीकृत समाजवादीले पनि बैठक बसेर आफ्नो पार्टीले निर्णय गर्ने भएकाले पर्सिसम्म कुर्न भनेको थियो। सोही अनुसार पर्सि पुनः बैठक बस्ने टुंगो लागेको हो।
सत्ता गठबन्धनको बैठक बिहीबार साँझमा पनि बसेको थियो। तर सहमति जुट्न नसकेपछि शुक्रबार बिहानलाई बैठक सारिएको थियो। बिहीबारको बैठक सकिनासाथ प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पत्नी आरजु देउवासहित बालकोट पुगेका थिए।
'प्रधानमन्त्रीज्यूको दायित्व हो कि संसद्लाई सुचारु रुपले सञ्चालन गर्ने। प्रतिपक्षी दलको पनि त्यतिकै दायित्व र भूमिका रहन्छ,' कार्कीले भने, 'संसद् सुचारु गरेर एमसीसीको बारेमा संसद्मा गम्भीर र जीवन्त रुपमा छलफल होस्। यसैका बारेमा प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीज्यूलाई भेट्न जानु भएको हो।'
छलफल सकारात्मक भएको उनले बताए। 'एमसीसीलाई निष्कर्षमा पुर्याउने बारेमा विचार विमर्श सकारात्मक रुपले भएको छ,' उनले भने।
कुनै निर्णय हुन नसक्दा शुक्रबारको प्रतिनिधि सभाको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना टरेको छ। यद्यपि, त्यसबारेमा कार्यव्यवस्था परामर्श समितिमै छलफल हुने कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।