काठमाडौं– गृह मन्त्रालयले एमसीसी सम्झौताका विरुद्धमा भनेर घोषणा भएका विरोध प्रदर्शन लगायताका गतिविधिमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले मंगलबार साँझ हुने भनिएका राँके जुलुस तथा बुधबार आह्वान गरिएको नेपाल बन्द लगायतका गतिविधिमाथि निगरानी बढाउन भनेको हो।
परिपत्रमा कानुन विपरीतका गतिविधि (विरोध)का कार्यक्रमहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाइ समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन भनिएको छ।
जिल्ला प्रशासन कार्यालयहरुलाई जारी गरिएको निर्देशनका सन्दर्भमा प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धान विभागलाई समेत जानकारी गराइएको छ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौता खारेजीको माग गर्दै आएका विभिन्न राजनीतिक दल र समूहहरुले मंगलबारदेखि विरोधका कार्यक्रमहरु बढाएका छन्।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसीसी सम्झौता संसद्बाट पारित गर्ने खोजिएको भन्दै त्यसको विरोधमा बुधबार देशव्यापी बन्द आह्वान गरेका छन्।
सरकारले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरी पारित गर्ने प्रयास गरेको भन्दै कम्युनिस्ट पार्टीहरुले देशव्यापी बन्दको आह्वान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।