काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभाको भोलि (बुधबार)को बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएका छन्। मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुको जिज्ञासको उत्तर दिँदै उनले त्यो कार्यसूचीमा रहनुपर्ने बताएका हुन्।
'एमसीसी टेबल गर्ने नै प्रतिबद्धता हो। एमसीसीलाई प्रस्तावको रुपमा टेबल गर्ने नै कुरा हो। एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला। यो कार्यसूचीमा रहनुपर्छ', उनले भने।
प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। मंगलबार सार्वजनिक प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी टेबल हुने उल्लेख छैन।
त्यस्तै, कांग्रेसले सभामुखले कुनै पनि बहानामा एमसीसी रोक्न नमिल्ने निर्णय गरेको छ।
'राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन। यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को अजेन्डा बनाउनु सभामुखको जिम्मेवारी हो', बैठकपछि सार्वजनिक गरिएको एमसीसी सम्बन्धमा सात पृष्ठ लामो निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।