जब आन्तरिक अवस्था बलियो हुँदैन, तब बाह्य सम्बन्ध राम्रोसँग सञ्चालन हुन सक्दैन। देश अस्थिरतामा हुँदा बाह्य सम्बन्धमा ध्यान पुग्दैन। त्यस बेला अन्य देशसँगको सम्बन्ध कमजोर हुन पुग्छ। बाह्य समुदायले अस्थिर देशलाई कम विश्वास गर्छन्। अस्थिर देशप्रति मित्र राष्ट्र र अन्तर्राष्ट्रिय निकायको दृष्टिकोण सकारात्मक हुँदैन।
अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राजनीतिक दलहरू एकै ठाउँमा उभिन जरुरी हुन्छ। बाह्य सम्बन्ध राम्रो हुनु हाम्रो जस्तो विकासोन्मुख देशका लागि अति आवश्यक छ। हामीले विदेशी सहयोग, अनुदान र ऋणमा विकासका कार्य सञ्चालन गर्नुपर्ने हुन्छ। नत्र नेपालको विकासमा अन्तर्राष्ट्रिय असहयोग हुने निश्चित छ। त्यस्तो असहयोग भए विकासका ठूला पूर्वाधार निर्माण गर्न सक्दैनौँ। बाह्य सम्वन्ध राम्रो भए आन्तरिक सम्बन्ध सुधार गर्न पनि सहयोग पुग्छ।
हाम्रो परराष्ट्र सम्बन्धको मुल्य, मान्यता र आधार भनेको संविधान नै हो। देशको हित र क्षेत्रीय अखण्डताको कुरा संविधानमा उल्लेख छ। संयुक्त राष्ट्रसंघको बडापत्रदेखि हामीले लिँदै आएको नीतिमा आधारित रहेर परराष्ट्र सम्बन्ध बनाउनुपर्छ। बाह्य सम्वन्ध र संसदका बीचमा के सम्बन्ध छ भन्ने पनि बुझ्न जरुरी छ। हामी संसदीय अभ्यासमा छौँ। संसदको शासनमा संविधानको सर्वोच्चता हुन्छ। प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ। किनकि, त्यही संसदले उनीहरूलाई बनाएको हुन्छ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता संसदमा आउने विगतदेखिकै अभ्यास हो। संसदमा नआई गोप्य सन्धि सम्झौता हुन सक्दैन। हिजो हुन्थ्यो होला, तर आज हुन सक्दैन र हुनुहुँदैन। संसदमा छलफल नभइ सरकारले कुनै सन्धी वा सम्झौता गरेर त्यसलाई कार्यान्वयन गर्न सक्दैन। संसदमा नआएको गोप्य सन्धि सम्झौता मान्न सकिँदैन। मुलुकका आधारभूत हितबारे संसदमा जानकारी हुनुपर्छ। जनताका प्रतिनिधिले त्यसबारे बोल्न, जान्न र छलफल गर्न पाउनुपर्छ। यो सार्वजनिक रुपमा बहस हुनुपर्छ। तर, संसदीय अभ्यास बाहिर गरिने छलफलले अर्थ राख्दैन। संसदभित्र हुने छलफलले मात्र त्यसलाई वैधानिकता दिन्छ।
यसमा मेरा पनि केही प्रश्न छन्। नेपाल कत्रो छ? हामी ‘सानो छ, सानो छ’ मात्रै भन्दै आएका छौँ। के साँच्चै हामी नेपाल सानो छ भन्ने मानसिकतामा मात्र कुदेका छौँ? मेरो विचारमा नेपाल सानो छैन। विश्वका अरु देशमध्ये नेपाल पनि एउटा देश हो। सानो र ठूलो भन्ने होइन। लघुताभास लिनु जरुरी छैन। संयुक्त राष्ट्रसंघअन्तर्गतको एउटा देश नेपाल पनि हो। हामीले विश्वबाट के लिन सकिन्छ लिने र के दिन सकिन्छ दिने हो। त्यसैले हरेक देशसँग बराबरीको सम्बन्ध राख्नुपर्छ।
हामीले पनि समुन्द्र सतह प्रयोग गर्न पाउनुपर्छ भन्ने कुरा उठाइरहेका छौँ। अन्तर्राष्ट्रिय क्षेत्रमा भारत र चीनले पनि नेपालबाट धेरै फाइदा उठाएको छ। भारतको विकासमा नेपालीहरूको योगदान धेरै ठूलो छ। श्रमदेखि सीपसम्म हामीले भारतलाई दिइरहेका छौं। हामीले हाम्रा सम्बन्धलाई दुई पक्षीय आधारमा हेर्नुपर्छ। हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर हेर्नुपर्छ।
हामी असंलग्नताको सिद्धान्तमा रहिआएका छौँ। त्यसैले चीन र भारतका आँखाबाट दृष्टिकोण बनाउन मिल्दैन। लोकतन्त्र, स्वाभिमान र सन्तुलित सम्बन्धलाई हामीले ख्याल गर्नुपर्छ। चीन र भारतको संवेदशीलता पनि हेर्नुपर्छ र त्यही रूपमा सम्बन्ध राख्नुपर्छ। अमेरिकासँग पनि गर्ने यही हो। जुन देशसँग सम्बन्ध बनाउने हो, त्यही देशको दृष्टि प्रयोग गर्ने हो। एक देशलाई अर्को देशको दृष्टिले हेरेर सम्बन्ध निर्धारण गर्नुहुँदैन।
नेपालको विकास गर्ने पहिलो शर्त गरिबी हटाउनु हो। यसका लागि नेपाल एक्लै वा वैदेशिक सहयोगविना संभव छैन। नेपालका नागरिकहरुको इज्जत जोगाउँदै र प्रतिष्ठा कायम गदै विश्वसँग सम्बन्ध राख्न जरुरी छ।
कुनै समय थियो, जति बेला विश्व दुई धुव्रमा थियो। तर अहिले परिस्थिति फेरिएको छ। नेपाल पनि विश्वको एउटा देश हो। आकार, सम्पत्ति र सामर्थ्यमा उनीहरु ठूला होलान्, तर हामी आफ्नो भू-भाग मात्र होइन, ‘पोजिसन’ पनि बोकेको देश हौँ। चीन विश्वशक्ति राष्ट्रको रूपमा उदाइरहेको छ। यो अवस्थामा कि अमेरिकासँग लाग्ने, कि चीनसँग भन्ने हुँदैन। जुन देशबाट जति सम्भावना हुन्छ त्यही अनुसारको सहयोग लिने हो। चीन र अमेरिका दुवैसँग सहयोग लिनुपर्छ र सम्बन्ध राख्नुपर्छ।
गरिब मुलुकलाई अझै गरिब पार्ने काम हुन सक्दैन। अहिले कोरोनाको खोपमा यो कुरा झन् देखिएको छ। सम्पन्न देश खोप बेचेर अझ धनी भए। तर, गरिब देशहरूले खोप महङ्गोमा खरीद गरेर नागरिकलाई लगाउन बाध्य भए। यसले धनी र गरिब देशबीचको खाडल बढायो। यसमा पनि कतिपय देशले कुटनीतिक सम्बन्धलाई प्रयोग गरे।
नेपालले आन्तरिक र बाह्य रूपमा आफूलाई बलियो पार्न सकेन भने असफल हुने दिशामा जानेछ। नेपालीहरूको अवस्था माथि उठाउन नसके जनतामा असन्तुष्टि बढ्ने छ। विगतमा १० वर्षसम्म चलेको हिंसाले हामीलाई कति वर्ष पछाडि धकेल्यो? यो हिंसा नभएको भए हामी केही अगाडि बढ्ने थियौँ। हिंसाको कारण छ। हाम्राबीचमा असमानता र गरिबी बढ्यो। अनि असन्तुष्टि चुलिएर हिंसा भयो।
हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई जति फैलाउछौँ, त्यही राम्रो हुन्छ। यो खुम्चिएर राम्रो हुने होइन। चीन र भारतबीचबाट हामी अघि बढिरहेका छौँ। यो भौगोलिक यथार्थता हो। तर, योभन्दा बाहिर जान हुँदैन भनेर ‘आइसोलेसन’मा बस्न हुँदैन। हामीले रसियादेखि अमेरिकासम्म र अन्य कुनै पनि देशले जति दिन्छन् त्यहीअनुसार लिएर नेपालको विकासमा लगाउनुपर्छ। एमसीसीलाई यही रूपमा लिन जरुरी छ।
हामीले संसदलाई विश्वास गर्ने हो। यदि यो विश्वसनीय छैन भने विघटन गरेर नयाँ ल्याउने हो। यसलाई विश्वास नगरेर बाहिर हहस गर्ने होइन। संसदमा छलफल गर्नुपर्छ। संसदमा हुने छलफलसगै नागरिकले पनि छलफल गर्छन्, अनि प्रभावित पार्न पनि सक्छन्। चीन र भारत बाहिर सम्बन्ध राख्दैमा तर्सनुपर्ने म देख्दिनँ।
(‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयमा ज्ञान गोष्ठिले आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अशं)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।