तस्बिर : रासस।
काठमाडौं- नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव पारित गर्न अन्य राजनीतिक दलहरुलाई पनि आह्वान गरेको छ। मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए।
'महाभियोग प्रस्तावको प्रस्ताव अगाडि बढ्दै गर्दा हस्ताक्षर गर्ने दलबाहेक अन्य राजनीतिक दलसँग सम्बद्ध भएका सांसदहरुले पनि यो महाभियोग उपयुक्त भएकाले गर्दा यसलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास प्रकट गरेका छौँ', थापाले भने, 'यो महाभियोगको प्रस्तावलाई संसद्बाट पारित गर्नका निम्ति हामीले अन्य राजनीतिक दलसम्बद्ध सबै सांसदहरुलाई आह्वान पनि गरेका छौँ।'
महाभियोगको प्रस्तावमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। 'जो यसमा सम्मिलित हुनुभएको छैन। कोही गठबन्धनमा हुनुहुन्छ। कोही प्रमुख प्रतिपक्षमा हुनुहुन्छ। सबैसँग संसदीय दलको तर्फबाट केही साथीहरुलाई पठाएर छलफल गर्ने टुंगो गरेका छौँ', उनले भने।
फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसद्हरुले संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले पनि सोही दिन आफ्नो दल महाभियोग प्रस्तावको पक्षमा उभिने भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।