काठमाडौं– सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दा छिटो पेसी राखी सुनुवाइ अगाडि बढाउन आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको आइतबारको संयुक्त इजलासले ओलीले दायर गरेको रिटको सुनुवाइ यथाशीध्र सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।
ओलीले दायर गरेको रिट (विवादित विषय) को महत्व र संवेदनशीलताका दृष्टिले छिटो छरितो सुनुवाइ हुन मनासिव देखिएको न्यायाधीश द्वयले जारी गरेको आदेशमा उल्लेख छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेका २ थान रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छन्। आफूले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरी अर्को दल (नेकपा एकीकृत समाजवादी) दर्ताका लागि प्रमाणीकरण गर्न दिएको भन्दै ओलीले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दिएका छन्।
यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर गरेको रिट पनि सर्वोच्चमा विचाराधीन छ। दुवै रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि लुम्बिनीका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले आफूलाई कोरोना संक्रमणका जस्ता लक्षण देखिएर आइसोलेसनमा रहेकाले मुद्दाको प्रतिरक्षामा उपस्थित हुन नसक्ने भन्दै पेसी स्थगित गर्न निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।