काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफूहरुले दर्ता गरेको प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा सबै सांसदहरुले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुघ महाभियोग प्रस्ताव दर्तापछि आइतबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो आशा व्यक्त गरेका हुन्।
'न्यायालय डेडलक भएर रहने अवस्थामा सांसदहरु टुलुटुलु हेरेर बस्न सक्ने अवस्था हुँदैन। राज्यका महत्त्वपूर्ण तीनवटा अंगहरुमध्ये न्यायपालिका पूर्ण रुपमा डेडलक रहेको अवस्थामा यसले प्रकारान्तरले संविधान विफल हुन्छ, लोकतन्त्र नै विफल हुन्छ। त्यसको रक्षाको निम्ति सबै सांसद्हरु सचेत हुनुहुन्छ, सजग हुनुहुन्छ', उनले भने, 'त्यसैले यो विषयमा सबै सांसदले समर्थन गर्नुहुन्छ भन्नेमा आशावादी छौँ।'
उनले आफूहरु अहिलेसम्म न्यायालयभित्रको समस्या त्यहीँबाट हल हुन्छ भन्नेमा आशावादी रहिरहेको भए पनि त्यसो नभएको बताए। 'मार्ग प्रशस्त गर्नका लागि पटकपटक विभिन्न ढंगले आग्रह पनि गरेका थियौँ। तर, उहाँ (प्रधानन्यायाधीश राणा) तयार हुनुभएन। डेडलक खुलाउन तयार हुनुभएन। निकास दिन तयार हुनुभएन। त्यसैले बाध्यात्मक रुपमा संसद्को तर्फबाट यो कदम चाल्नुपर्यो', गुरुङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।