काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पदमै रहेको समयमा महाभियोग प्रस्ताव सामना गर्ने दोस्रो प्रधानन्यायाधीश बनेका छन्।
यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्व महाअभियोग प्रस्ताव दर्ता भएको थियो। कार्कीविरुद्ध २०७४ वैशाख १७ गते महाअभियोग दर्ता भएको थियो।
त्यसको साढे ४ वर्षपछि प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले हस्ताक्षर गरेर महाभियोग प्रस्ताव दर्ता गराएका छन्।
कार्कीविरुद्ध महाभियोग गर्दा प्रस्तावकमा कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत थिए। उक्त महाभियोगमा २४९ जना सांसदको हस्ताक्षर थियो।
तर, पछि उक्त महाभियोगविरुद्ध रिट दायर भएपछि न्यायाधीश चोलेन्द्र शमशेर राणाले (हालका प्रधानन्यायाधीश) अन्तरिम आदेश जारी गरेर कार्कीलाई सर्वोच्च फर्काएका थिए।
राणाविरुद्धको महाभियोगमा कांग्रेसकी पुष्पा भुसाल, माओवादीका देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।