काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ। आइतबार महाभियोग प्रस्ताव गर्दा गरिएपनि यसको तयारी भने शुक्रबार नै गरेको पाइएको छ।
नेपाली कांग्रेसका एक सांसदका अनुसार शुक्रबार नै महाभियोग प्रस्तावमा हस्ताक्षर गरेर तयार पारिएको थियो। त्यसलाई आज दर्ता गरिएको हो।
प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार बिहान ११ बजेर १० मिनेटमा २१ बुँदा उल्लेख गर्दै संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएको छ।
जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।
यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्। ३ जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन्। पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन्।
महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बित भएका छन्। यससँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की स्वत: कामु प्रधानन्यायाधीश भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।