काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफंनो दल आबद्ध गठबन्धन कुनै परियोजनको निम्ति नभएको बताएका छन्। आइतबार बिहान ‘जनयुद्ध दिवस’का अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धन गठन गर्दाकै मान्यतामा दृढ रहनुपर्ने बताए।
‘हामीले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनका आधारमा गठबन्धन बनाएको होइन,’ प्रचण्डले भने, ‘यो गठबन्धन सुदृढ हुँदै जाने या कमजोर बन्ने भन्ने कुरा हामीले यो गठबन्धन निर्माण गर्दा जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा थियौँ, त्यही मान्यतामा खडा भएर यो गठबन्धनलाई अगाडि बढाउनुपर्दछ।‘
उनले आज कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने हाम्रो ऐतिहासिक धरातल भत्काउने कुरा जस्तै हुने बताए। ‘म यो पक्षमा आम जनतासँग अपिल गर्न चाहन्छु। हामीले जुन मूल्य र मान्यतामा टेकेर गठबन्धन बनाएका हौं, त्यसैले दृढ रहौं,’ उनले भने, ‘हामीलाई जनताले जे उद्देश्यमा साथ दिएको हो, मलाई विश्वास छ, जनता अहिले पनि त्यही विश्वास र भरोसामा छन्। हामी कसैले पनि त्यसलाई मिनिमाइज गर्न हुँदैन। उच्च सम्मान गर्नुपर्छ।’
प्रचण्डले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र राजनीतिक मान्यताहरुलाई अगाडि सारेको र तिनै मान्यताका आधारमा गठबन्धन बनाएको बताए। संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा हामी एक मत भएर, त्यसलाई लिपिबद्ध गरेर त्यसैको आधारमा आन्दोलित हुँदै हाम्रो गठबन्धन बनेको र यो सरकार पनि गठन भएको उनले बताए।
अहिले कुनै तरिकाले प्रतिगमन विरोध आन्दोनका कारण र त्यो प्रक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनका निम्ति, यो सरकारलाई गिराउनका निम्ति, निर्वाचन प्रक्रियालाई विथोल्नका निम्ति अनेक खालका प्रपन्चहरु भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।