काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन्। आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ।’
जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको प्रचण्डको भनाइ छ। ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्। उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरू, घाइते योद्धाहरू र उनीहरूका परिवारजनप्रति हार्दिक सम्मान पनि प्रकट गरेका छन्।
संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान रहेको उनको भनाइ छ।
विभिन्न प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको बताउँदै उनले भनेका छन्, ‘२७ औँ जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।