काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण माघ महिनाको सुरुआतदेखि बन्द भएको फिल्म क्षेत्र फेरि सञ्चालनमा आउँदै छ। यसबीच नेपाली फिल्महरुको प्रदर्शन मिति पनि धमाधम तोकिँदै छ।
फिल्मको घोषणासँगै एकै मितिमा दुई नेपाली फिल्म जुध्दा विवाद पनि उत्पन्न भएको छ।
कुरा ‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’को हो। ‘म यस्तो गीत गाउँछु’ फिल्मको निर्माणपक्षले केही दिनअघि आफ्नो फिल्म फागुन १३ मा प्रदर्शन गर्ने घोषणा गरेको थियो। यसअघि माघ १९ गतेलाई तोकिएको फिल्म महामारीका कारण स्थगित भएको थियो। सिनेमा हल खुल्ने भएसँगै फिल्मले नयाँ मिति तोक्दै फागुन १३ गते फिल्मलाई प्रदर्शन गर्ने घोषणा गरेको थियो।
तर, यो मितिमा यसअघि नै ‘लप्पन छप्पन २’ फिल्म प्रदर्शनको लागि मिति तोकिएको थियो। उक्त फिल्मका निर्माता निर्मल कुमार मिश्रले आफ्नो फिल्मसँगै ‘म यस्ता् गीत गाउँछु २’ प्रदर्शनको मिति तोकिएकोमा आपत्ति जनाएका छन्।
फिल्मका निर्माता मिश्रले नेपाल चलचित्र संघलाई पत्र लेख्दै यो विषयमा ध्यानाकर्षण गर्न अनुरोध गरेका छन्। संघले कोरोना महामारीका कारण थलिएको चलचित्र क्षेत्रलाई उकास्ने हेतुले केही समयअघि दुई साताको अन्तरमा मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो। तर, हाल आफ्नो फिल्मकै प्रदर्शन मितिमा अर्को फिल्मले मिति तोकेकोमा मिश्रले आपत्ति जनाएका छन्।
उक्त पत्रमा लेखिएको छ, ‘मेरो चलचित्र ‘लप्पन छप्पन २’को २०७८ फाल्गुन १३ गते रिलिज डेट लकडाउनभन्दा अगावै नै सार्वजनिक गरिसकेको थियो। हाल आएर हाम्रो चलचित्र रिलिज मितिमा ‘म यस्तो गीत गाउँछु २’लाई पूर्वाग्राही रुपमा हामीलाई जानकारी नगराइकनै उक्त रिलिज मिति ‘म यस्तो गीत गाउँछु २’लाई दिइएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ।’
मिश्रले आफ्नो चलचित्रले प्रदर्शनका लागि सबै प्रक्रिया पूरा गरिसकेकाले फिल्म रिलिज गर्न अनुमति दिनसमेत अनुरोध गरेका छन्।
‘लप्पन छप्पन २’ सन् २०१७ मा प्रदर्शनमा आएको मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन’को सिक्वेल हो। फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायतका कलाकारको अभिनय रहेको छ।
यस्तै ‘म यस्तो गीत गाउँछु २’ सुदर्शन थापाको निर्देशनमा सन् २०१७ मा प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’को सिक्वेल हो। फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरीलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।