काठमाडौं– फिल्म निर्माता अर्जुन कुमारलाई पछिल्ला केही महिना फापेन। कहिले आफ्नै कारण उनको फिल्म प्रदर्शन गर्न पाएनन् त कहिले महामारीका कारण फिल्म प्रदर्शन गर्न पाएनन्। तर, अब भने उनले फेरि एक पटक मौका पाएका छन्। ‘चपली हाइट ३’ फागुन १ गतेबाट फेरि पर्दामा आउने भएको छ।
पछिल्लो पटक फिल्मले पुस २७ गते प्रदर्शनको मिति पाएको थियो। फिल्म प्रदर्शन पनि भयो। तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ र बढ्दो संक्रमणका कारण देखाउँदै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गर्यो। प्रदर्शन भएर भर्खर लय समात्दै गरेको ‘चपली हाइट ३’का लागि यो निर्णयले निकै असर गर्यो। तर, अर्जुनको फिल्म ‘चपली हाइट ३’को प्रदर्शन स्थगित भएको पहिलो पटक थिएन। यसअघि पनि फिल्मको प्रदर्शन स्थगित भएको थियो।
त्यसअघि अर्जुनले दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’लाई आफ्नो फिल्मसँग जुधाएको भन्दै ‘चपली हाइट ३’लाई पुस २ गतेबाट पछि सारेका थिए। पुस १५ मा प्रदर्शन मिति तोकिएको ‘चपली हाइट ३’ फेरि पछि सर्यो। कारण थियो, चलचित्र निर्माताहरुकै निर्णय। महामारीले थलिएको सिनेक्षेत्रलाई केही राहत होस भन्दै उनीहरुले दुई साताको फरकमा फिल्म प्रदर्शन गर्ने निर्णय गरेर नियम बनाएका थिए। तर, अर्जुनले पुसन १६ मा प्रदर्शनको मिति तोकिएको ‘कठपुतली’सँग आफ्नो फिल्म जुँधाएकाले फिल्मलाई पछि सार्नुपर्यो।
त्यसपछि पुस २७ मा प्रदर्शन मिति तोकिएको थियो। फिल्म प्रदर्शन त हुन पायो, तर फेरि महामारीका कारण त्यसको प्रदर्शनलाई स्थगित गर्नुपर्यो। अब भने चपली हाइटले फेरि एकपटक मौका पाएको छ। फागुन १ गतेबाट फिल्म पुनः प्रदर्शनका लागि मिति तोकिएको छ। सरकारले सिनेमा हलहरुमा लगाएको प्रतिबन्ध हटेकाले फिल्म फेरि प्रदर्शन हुने घोषणा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।