काठमाडौं- कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैर सांसद माओवादी केन्द्रबाट मन्त्री बनेका छन्।
आइतबार छिरिङ डम्डुल लामा ( कार्चेन लामा) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। हुम्लाका उनी जेल सजाय भोगेका र गैर सांसद हुन्।
सांसद नभएकालाई छ महिना मन्त्री बनाउन सकिने प्रावधानको आडमा गैर सांसदलाई मन्त्री बनाइएको हो। लामा मूर्ति चोरीको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति भएको भन्दै आलोचना भइरहेपनि उनी मन्त्री बनेका हुन्।
प्रदेश कमिटी र संसदीय दलको विरोध रहँदा पनि प्रचण्डको निर्देशनमा उनी मन्त्री बनेका हुन्। मुख्यमन्त्री जीवन बहादुर शाहीले आइतबार उनी सहितका अन्य मन्त्रीलाई सपथ गराएका छन्।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले आइतबार नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। कर्णालीमा ८ सदस्यीय मन्त्रीमण्डल बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।