काठमाडौं- सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घण्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ। 'छलफल सकारात्मक भएको छ। निरन्तर छलफललाई अगाडि बढाएर निष्कर्षमा पुर्याउँछौँ,' सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने।
यस्तै संसद्मा लामो समयदेखि जारी रहेको गतिरोधलाई हटाउने विषयमा पनि महत्वपूर्ण संवाद भएको उनको भनाइ छ। राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अगाडि बढाउन छलफल ‘आइसब्रेक’ भएको मन्त्री कार्कीले उल्लेख गरे।
उनले संसद्को प्रभावकारिता बढाउने र जीवन्त बनाउने विषयमा प्रमुख प्रतिपक्षीसँग महत्वपूर्ण छलफल भएको र यसलाई निरन्तर जारी राखेर चाँडै निष्कर्षमा पुर्याइने जानकारी दिए। फरक एक प्रसङ्गमा मन्त्री कार्कीले सत्तारूढ गठबन्धनमा कुनै पनि अविश्वास नरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।