काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरसहित अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लेखेको पत्रलाई अनावश्यक रुपमा उछालेको टिप्पणी गरेको छ।
भर्खरै गठबन्धन सरकार बनेको तत्कालीन अवस्थामा राष्ट्रिय हित र गठबन्धन सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको पनि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ।
पत्रमा एमसीसी सम्झौताका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको पनि प्रचण्डको सचिवालयले दाबी गरेको छ।
'देशमा एकातिर एमसीसीबारे राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखी जनस्तरसम्म विरोध र दबाबको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई 'परिमार्जन बिना पारित गर्न नसकिने' निचोड प्रस्तुत गरेको समेतले गठबन्धन भित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन,' प्रचण्डको सचिवालयले एक वक्तव्य जारी गर्दै भनेको छ, 'यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्र हितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनीतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन।'
एमसीसी परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा पार्टी (माओवादी केन्द्र) दृढ रहेको पनि प्रचण्डको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।