काठमाडौं– न्याय सेवा आयोगको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित भएका छन्।
आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश राणाले आइतबार दिउँसो २ बजे बस्ने गरी आयोगको बैठक बोलाएका थिए। जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो।
तर, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्म बहादुर खाती उपस्थित भएनन्।
अरु सदस्यहरु बैठकमा सहभागी नभए पनि प्रधानन्यायाधीश राणा भने आयोगको सचिवालय उपस्थित भएका थिए।
'अरु सदस्यज्यूहरुले बैठकमा उपस्थित नहुने भनेर जानकारी दिइसक्नुभएको थियो। उहाँहरु नआए पनि प्रधानन्यायाधीश ज्यू भने बैठकका लागि भनेर आउनुभयो। एकछिन बसेर जानुभयो,' न्याय सेवा आयोगका एक अधिकारीले भने।
मन्त्रिपरिषद्मा हिस्सा खोजेको प्रकरणले विवादित बनेयता प्रधानन्यायाधीश राणाको अध्यक्षमा पहिलोपटक गत शुक्रबार (माघ १४ गते) आयोगको बैठक बसेको थियो।
उक्त बैठकमा प्रधानन्यायाधीश राणासँगै लोक सेवा आयोगका अध्यक्ष रेग्मीको भौतिक उपस्थिति थियो। बैठकमा उपस्थित नभएका वरिष्तम् न्यायाधीश कार्की र महान्यायाधिवक्ता खातीले केही निर्णयमा हस्ताक्षर गरेका थिए।
तर, प्रधानन्यायाधीश राणाले पारित गराउन खोजेको जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गर्ने निर्णयमा भने कार्की र खातीले हस्ताक्षर गर्न मानेका थिएनन्।
शुक्रबार बसेको बैठकले न्याय/कानुन र सरकारी वकिल समुहका सहसचिव, उपसचिवको वढुवा र पदस्थापना गर्ने कार्य गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।