काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री मण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलबाट ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका छन्।
मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हन लागेका छन्।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट खोटाङका रामकुमार राई (पासाङ) र झापाका झलकसिं दर्लामी मन्त्री बन्दै छन्। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने निश्चित भएको एक नेताले बताए।
कांग्रेसबाट मन्त्री बनेका थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीलाई उद्योग, श्रम तथा रोजगार र हाङ्गामलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालयनिकट स्रोतले जनाएको छ। त्यसैगरी माओवादीबाट राईलाई सिँचाइ, खानेपानी तथा उर्जा र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
एकीकृत समाजबादीका राईलाई सामाजिक विकास मन्त्रालय र लिम्बूलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले बतायो। घिमिरेलाई भने सञ्चार तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
गत आइतबार बसेको मन्त्री परिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री गरेर १४ सदस्यीय हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।