काठमाडौं– केन्द्रीय तथ्यांक विभागले माघ १२ गते राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्यो। त्यही दिन साहित्यकार राजन मुकारुङले फेसबुकमा यस्तो स्टेटस लेखे, ‘गणकहरू हामीकहाँ आएनन्, हामीले पनि बोलाएर दुःख दिनु उचित ठानेनौँ, अनि हामी नै छुट्यौँ। चाहँदा स्थानीय तहले मिलिकमै काम तमाम गर्ने कुरा हो– जनगणना।’
मुकारुङजस्तै धेरै सर्वसाधारणले जनगणनाको प्रारम्भिक नतिजामा प्रश्न उठाएका छन्। अर्घाखाँचीको पाणीनी नगरपालिका–४ का सागर भटट्राईले पनि आफ्नो गणना नभएको बताएका छन्। उनको १० जनाको परिवार छ। जेठा दाइका छोराछोरी र आमा गाउँमा बस्छन्। माइला दाइ खगराज गुल्मीमा क्याम्पस पढाउँछन्। अर्का एक दाइ भारत बस्छन्।
सागर भने काठमाडौंको बालाजु बस्छन् र वैदेशिक रोजगार बोर्डमा काम गर्छन्। उनका अनुसार घरमा भएका दाजु र आमाको मात्र गणना भएको छ। काठमाडौंमा उनको गणना नै भएन। उनी भाडामा बस्ने घरमा १६ वटा कोठा छन्। घरबेटी त्यहाँ बस्दैनन्। त्यो घर बस्ने कसैको गणना नभएको उनी बताउँछन्।
त्यस्तै दैलेखको आठबीस कोट गाउँपालिकाका प्रेम विश्वकर्माले पनि आफ्नो गणना नभएको बताएका छन्। उनको घरमा आमा, बुबा, दाइ, भाउजू र बहिनी छन्। ‘घरमा गणक गएका रहेछन्। एउटा छोरो काठमाडौं छ भन्दा उतै गणना हुने बताएछन्। तर, यता मसँग कसैले तथ्यांक लिएन,’ उनले भने।
प्रेम त्रिभुवन विश्वविद्यालयमा राजनितिशास्त्रमा स्नाकोत्तर गरिराखेका छन्। कीर्तिपुरमा डेरा बस्छन्। आफू कलेज समयबाहेक डेरामै हुने उनको भनाइ छ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ की डोमा तामाङ जनगणनाका लागि आफ्नो घरमा कोही नआएको बताउँछिन्। काठमाडौं डेरामा बस्ने भाइ पनि गणनामा छुटेको उनी बताउँछिन्। आफ्नो गाउँका धेरै परिवारसम्म गणक नपुगेको उनको दाबी छ।
केन्द्रिय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले भने कतिपय व्यक्ति छुट्नु स्वाभाविक भएको बताए। उनले भने, ‘राष्ट्रिय जनगणना भनेको व्यक्तिगत परिचयपत्र माग्नका लागी गरिने गणना होइन, योजना निर्माणका कार्यलाई बाँडफाँड गर्न गरिन्छ। त्यसैले सबैको व्यक्तिगत विवरण नआउन सक्छ। त्यो स्वाभाविक हो।’
वैदेशिक रोजगारीका क्रममा रहेकाको विवरण सम्बन्धित परिवारबाट लिइएको उनले जानकारी दिए। अन्य व्यक्ति भने जुन ठाउँमा बसोबास गरेको हो, त्यहीँबाट विवरण संकलन भएको उनको भनाइ छ।
काठमाडौंलगायत शहरी क्षेत्रमा गणकहरूलाई विवरण लिन समस्या परेको चौलागाईंले बताए। उनले भने, ‘काठमाडौंमा ढोका नखोल्ने, घरमा मान्छे नभेटिने जस्ता समस्या आए। भाडामा बस्नेलाई भेट्न झनै मुस्किल भयो।’
जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। १० वर्षअघि २०६८ सालमा भएको जगगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। एक दशकमा जनसंख्या २६ लाख ९७ हजार ९७६ जना बढेका छन्।
जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। अघिल्लो जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो। यो वृद्धिदर ८० वर्षयताकै सबैभन्दा कम हो। १९९८ साल यताका सबै जनगणनामा वृद्धिदर एक प्रतिशतभन्दा माथि थियो। तर, १९८७ र १९७७ सालको जनगणनामा वृद्धिदर ऋणात्मक थियो।
नेपालमा १९६८ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि जनगणना गर्न सुरु भएको हो। यसपटकको जनगणना बाह्रौँ हो।
यसपटकको जनगणनाअनुसार महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ अर्थात्, ५१.०४ प्रतिशत छ। त्यसैगरी पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ अर्थात्, ४८.९६ प्रतिशत छ।
अमेरिकामा पनि तीन प्रतिशतसम्म छुट्छन् तीर्थराज चौलागाईं सूचना अधिकारी, केन्द्रीय तथ्यांक विभाग राष्ट्रिय जनगणना भनेको व्यक्तिगत परिचयपत्र माग्नका लागि गरिने गणना होइन। योजना निर्माणका कार्यलाई बाँडफाँड गर्न जनगणना गरिन्छ। त्यसैले सबैको व्यक्तिगत विवरण नआउन सक्छ। त्यो स्वाभाविक हो। पक्कै पनि कतिपय नागरिक छुटेका होलान्। अमेरिकाजस्तो दक्ष जनशक्ति र प्रविधि भएको ठाउँमा पनि दुईदेखि तीन प्रतिशत छुट्ने रहेछन्। जनगणना गणना गर्नेको मात्र दायित्व नभएर दिनेको पनि दायित्व हो भन्ने बुझ्नुपर्छ। गणकले दोहोर्याएर अथवा तेहेर्याएर पनि विवरण लिएको देखिन्छ। त्यसैले सकेसम्म नछुटाउने र नदोहोर्याउने प्रयास हुन्छ। ठूलो संख्यामा गरिने काम भएको हुनाले केही तलमाथि हुनु स्वाभाविक हो। वैदेशिक रोजगारीका क्रममा विदेश रहेकाको भने सम्बन्धित परिवारबाटै गणना भएको छ। अक्सर जहाँ बसोबास भएको हो, त्यहीँबाट विवरण संकलन हुन्छ। त्यसैले विदेश हुनेबाहेक डेरा बस्नेहरूको हकमा सम्बन्धित ठाउँबाट नै गणना भएको छ। तर, काठमाडौँलगायत शहरी क्षेत्रमा भने ढोका नखोल्ने समस्या भयो। कतिपयमा घरबेटी नभेटिने, कतिपयमा भाडामा बस्ने नभेटिने पनि भयो। यस्ता खालका समस्या पनि स्वाभाविक हुन्। गणनाका लागि नागरिकलाई राज्यले सुसूचित गराएको हो। विभिन्न मिडियामार्फत जानकारी गराइएको हो। फोनको रिङटोनमा पनि सूचना दिइएको हो। धेरैभन्दा धेरै नागरिकसम्म जानकारी पुर्याइएको थियो। मतदाता नामवली र जनगणनाको फरक नबुझेर पनि प्रश्न गरिएको छ। धेरैले मनाङको उदाहरण दिँदै मतदाताभन्दा जनसंख्या कम भएको बताएका छन्। मनाङका धेरै मान्छे जिल्लाबाहिर छन्। उनीहरू जहाँ छन्, त्यहीँ गणना हुन्छ। तर, मतदाता नामवली सम्बन्धित जिल्लामा नै संकलन हुन्छ र भोट हाल्न त्यहीँ जानुपर्छ। त्यसकारण फरक परेको हो। केही समयअघि तथ्यांक विभागले नै नेपालको जनसंख्या तीन करोड पुगेको अनुमान सार्वजनिक गरेको थयो। त्यो अनुमान मात्र थियो। नेपालको अघिल्लो जनगणना र जनसंख्या वृद्धिदरलाई आधार बनाएर अनुमान गरिएको थियो। अहिले सार्वजनिक गरिएको जनसंख्या चाहिँ आधिकारिक हो। त्यसैले नेपालको जनसंख्या तीन करोड पुगेको छैन। जनसंख्या वृद्धिदर घट्नुमा हालको बच्चा कम जन्माउने परिपाटी पनि कारक हो। त्यसैगरी देशको उर्वर जनशक्ति विदेशमा छ। प्रजनन् क्षमता भएका नागरिक वैदेशिक रोजगारीमा हुँदा पनि जनसंख्या वृद्धिदर घटेको हो। |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।