काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई गरेको अनुशासन सम्बन्धित कारबाही फिर्ता लिएको छ।
बिहीबार भैरहवामा बसेको क्यानको कार्यसमिति बैठकले मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको हो।
क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान मल्ल र उपकप्तान ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो।
यस्तै, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सुरुआती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो। यी दुवै कारबाही फिर्ता हुनुपर्ने भन्दै चार खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन्।
त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी भए कार्यसमिति बैठकले उक्त कारबाही फिर्ता लिने आश्वासन दिएका थिए। सोही अनुसार बैठकले कारबाही फिर्ता लिएको हो। योसँगै यसअगाडि ‘बि’ ग्रेडमा रहेका सोमपाललाई ‘ए’ ग्रेडमा पुन: राखिएको छ।
साथै, ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूपरु १ लाख जनही प्रदान गर्ने बैठकले निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।