भरतपुर- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। भरतपुर महानगरपालिकाले बिहीबार आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सम्बन्धमा अन्तक्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका हुन्।
नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रङ्गशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रङ्गशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए। कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको सिङ्गो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीले अध्ययन थाल्ने बताए। रङ्गशाला सम्पन्न गर्न स्थानीयवासीको चासो हुनुपर्ने भन्दै उनले भने,‘तपाईंहरु एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ।’
भरतपुरमा निर्माणाधीन रङ्गशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ। सो आयोजना सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ। फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।