काठमाडौं- बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन्। बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै उनले यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन्।
उनले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानूनि कामलाई पनि अघि बढाएर लैजाने बताए। मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए। उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए।
‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ। अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ। त्यसलाई पनि हल गर्नुपर्ने छ' उनले भने, 'हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ। त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ।'
मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।