काठमाडौं– कोभिड १९ को नयाँ भेरियन्ट र निरन्तर बढिरहेको संक्रमणबीच विश्वभर नै फिल्म क्षेत्र प्रभावित भएको छ।
यसबीच भारतीय सिने क्षेत्रमा पूर्वनिर्धारित मितिमा फिल्महरु प्रदर्शन नहुँदा ठूला बजेटमा बनेका फिल्महरु एकअर्कासँग भिड्ने स्थिति सिर्जना भएको छ। जनवरीदेखि फेब्रअुरीसम्म सिनेमा हलमा प्रदर्शन हुने भनिएका फिल्महरु महामारीका कारण पछि सर्दा एकअर्कासँग भिड्ने स्थिति बनेको छ।
यसरी एकसाथ सिनेमा हलमा लाग्ने दुई ठूला बजेटका फिल्म हुन्, ‘केजीएफ २’ र ‘लाल सिंह चड्डा’। अभिनेता आमिर खान, करीना कपुर र नागा चैतन्य लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा प्रदर्शन हुने घोषणा भएको छ। यहि दिन दक्षिण भारतीय फिल्म ‘केजीएफ २’को पनि प्रदर्शन हुँदै छ। ‘केजीएफ २’ अभिनेता याशको अभिनय रहेको फिल्म ‘केजीएफ’को सिक्वेल हो।
आमिरको फिल्म ‘लाल सिंह चड्डा’ लामो समयदेखि प्रदर्शनको पर्खाईंमा थियो। महामारीसँग अन्य कारणले गर्दा फिल्म प्रदर्शन हुन सकेको थिएन्। यसबीच अब प्रदर्शन मिति तोकिदाँ भने फिल्म ‘केजीएफ २’सँग जुँध्ने भएको छ।
याशको अभिनय रहेको ‘केजीएफ’ निकै सफल भएको फिल्म थियो। २०१८ मा प्रदर्शनमा आएको यो फिल्ममा याशले रकीको भूमिका निभाएका थिए, जसले आफ्नी आमालाई दिएको बचनअनुसार धनी बन्ने सपना देखेर सुन खानीको ‘राजा’ बन्ने लक्ष्य लिएका हुन्छन्। फिल्मको पहिलो भागले पाएको सफलतालाई लिएर दर्शकले ‘केजीएफ २’लाई निकै समयदेखि पर्खिरहेका थिए।
दुई ठूला बजेटका फिल्म एकसाथ प्रदर्शन हुँदा आमिर र याश आमनेसामने हुँदैछन्। यसले दुवै फिल्मको आम्दानीमा असर गर्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।