काठमाडौं- नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड-१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे। उनीहरुले अर्थ मन्त्रालय र जापानी राजदूतावासमा एक्ला-एक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो।
उक्त सहायताको उद्देश्य आर्थिक तथा वित्तीय नीति तथा संस्थाहरूको सुधारका साथै स्वदेशी औद्योगिक आधारलाई सुदृढ गर्ने र गरिब तथा जोखिममा परेका जनताको सुरक्षामा सरकारको प्रयासलाई जोड दिनु रहेको जानकारी दिइएको छ।
उत्थानशील र आर्थिक स्थायित्व बढाएर मुलुकको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा नेपाल सरकारको बजेट खर्चमासमेत उपयोग गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।