काठमाडौं- पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तरले भारतीय क्रिकेट टोलीका निवर्तमान कप्तान विराट कोहलीलाई पक्कै पनि प्रदर्शन गर्न दबाब रहेको बताएका छन्।
कोहली र छनोट समितिको निर्णयप्रति प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्वफास्ट बलर अख्तरले उक्त कुरा बताएका हुन्। कोहलीले क्रिकेटका तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिइसकेका छन्।
उनले विवाहको कारण पनि कोहलीको प्रदर्शन खस्किएको बताएका छन्। ‘यदि म भारतमा भएको भए र मेरो हैसियत विराट कोहलीको जस्तै भएको भए म कहिल्यै विवाह गर्ने थिइनँ,’ उनले भने,‘१२० शतक बनाएपछि म उनी विवाह गरून् भन्ने चाहन्थें।’
उनले थपे, ‘म आफ्नो जिम्मेवारीलाई कहिल्यै बढाइचढाइ गर्दिनँ।’ तर, उनले बिहे गर्नु कोहलीको व्यक्तिगत निर्णय भएको पनि बताए।
भर्खरै कोहलीले टेस्ट टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए। कोहलीले घोषणा गर्नुभन्दा करिब एक महिनाअघि भारतीय क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजअघि कप्तानबाट हटाएको थियो।
यसअघि टी२० विश्वकपपछि उनले टी२० फर्म्याटको कप्तानी छोड्ने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।