काठमाडौं- गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो भनाइको पूर्वाग्रहपूर्ण अपव्याख्या भएको बताएकी छिन्।
उनले माघ ५ गतेलाई 'बलिदानी दिवस'को अवसरमा दिएको मन्तव्यको भिडियो क्लिपमा स्पष्ट भएपनि त्यसलाई वक्तव्यमार्फत् ढाकछोप गर्ने प्रयास गरेकी हुन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्, 'आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि/प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ-आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।'
आफ्नो मन्तव्यलाई लिएर भ्रम फैलिएको बुझिन आएको बताउँदै मन्त्री यादवले दु:ख व्यक्त गरेकी छिन्। आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग गर्ने र कसैलाई उत्तेजित पार्न नभएको उनको दाबी छ।
आफ्नो भनाइलाई अतिरञ्जित गरिएको आरोप लगाउँदै उनले त्यस्तो नगर्न अनुरोध गरेकी छिन्। उनको भनाइ छ, 'मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु। साथै, यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। अगामी दिनमा यसप्रति सचेत रहनेछु।'
उनले जनमत पार्टी नेपालका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन्।
उनले भनेकी थिइन्, ' गौरमा राइस मिल अहिले पनि जीवित छ। फणा देखाउने प्रयास नगर। यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगरे हुन्छ। यो गौर ऐतिहासिक जिल्ला हो। तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो। त्यो इतिहास डाक्टर साब (सीके राउत)ले नभुलुन्।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।