काठमाडौं– संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले आपत्ति जनाएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव योगश भट्टराईले सामाजिक सञ्जालमार्फत् यादवको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन्।
एमाले नेताहरुले यादवको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको मौनतामाथि पनि प्रश्न उठाएका छन्। अपराधलाई दुरुत्साहन गर्ने अभिव्यक्ति बन्द गर्न उनीहरुको आग्रह छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका छन्, 'गठबन्धनकी एउटी नेतृ /वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा ) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्- बोल्दैनन् , गर्छन् गर्दैनन् ?'
उनले प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ? भनेर समेत प्रश्न गरेका छन्।
यसैगरी उपमहासचिव प्रदीप ज्ञवालीले एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को 'गौर नरसंहार'गराएर हत्या गर्ने खुला धम्की दिनु आपत्तिजनक र बर्बरतापूर्ण रहेको बताएका छन्। यस्तो गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै विडम्बनापूर्ण रहेको उनको ठहर छ।
ज्ञवालीले भनेका छन् 'अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्!'
एमाले सचिव भट्टराईले हिंसा भड्काउने र संविधानको बर्खिलापमा भाषण दिने मन्त्री यादवलाई हटाउन प्रधानमन्त्री देउवासँग माग गरेका छन्। नभए नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्ने भट्टराईको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।