काठमाडौं- आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परेपछि जनता समाजवादी पार्टी, नेपालले विज्ञप्ति जारी गरेको छ। शनिबार जारी विज्ञप्तिमा मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै धारणा उल्लेख गरिएको छैन।
जसपाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादव गत बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्याउने धम्की दिएकी थिइन्। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन्- ‘तुफानसँग नटकराउनुस्। नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो।’
२०६३ चैतमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादीका २७ कार्यकर्ताको विभत्स हत्या गरेका थिए। मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ। राजीनामा र कारबाहीको माग पनि भइरहेको छ।
तर, जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति भर्त्सना गरिएको छ। ‘मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैर राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा, नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ।’
जसपाको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न समेत विज्ञप्तिमा सचेत गराइएको छ। ‘यस्ता आपराधिक एवं गैरराजनीतिक, अराजक, गैरकानुनी, असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ‘, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।