काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन्।
फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुने अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको आईपीएल गभर्निङ काउन्सिलले जनाएको छ।
जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन्। उक्त अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्।
आईपीएलले शनिवार विज्ञप्ति जारि गर्दै यो सिजन अक्सनको लागि विश्वभरबाट १ हजार २ सय १४ जना खेलाडीले नाम दर्ता गराएको घोषणा गरेको छ। त्यसमध्ये एसोसिएट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराएका छन्।
भारतबाहेक देशका कुल ३१८ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। ओमानबाट ३, अमेरिकाबाट १४, स्कटल्याण्डबाट १, नेदरल्याण्डबाट १, नामिबियाबाट ५ जना तथा भुटानबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्।

टेस्ट राष्ट्र जिम्बाब्वेबाट२ जना तथा आयरल्याण्डबाट ३ जना खेलाडीले नाम दर्ता गराएका छन्। अफगानिस्तानबाट २०, अस्ट्रेलियाबाट ५९, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रीकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्ट इन्डिजबाट ४१ जना खेलाडीले नाम दर्ता गराएका हुन्।
नेपालबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको नाम सार्वजनिक भने गरिएको छैन। तर सन्दिप लामिछानेसहित राष्ट्रिय टिमका अधिकांश खेलाडीहरुले दर्ता गराएको सहजै अनुमान गर्न सकिन्छ। नेपाली खेलाडीहरुले पछिल्लो समय विश्वका बिभिन्न लिगहरुमा नाम दर्ता गराएता पनि छनोट भने हुने गरेका छैनन्।
यता, भुटानबाट मिक्यो दोर्जी रहेको अनुमान गर्न सकिन्छ। उनी भारतमा बसेर अभ्यास गर्ने आएका छन्। गत असोजमा उनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) ललितपुर प्याट्रियटर्सबाट खेलेका थिए।
आईपीएलमा १० टोलीले रिटेनमार्फत् ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन्। दर्ता गराएको नामबाट आईपीएलमा सर्ट लिट हुनेछ। सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन्।
आईपीएल अक्सन फेब्रुअरी १२ र १३ म हुने भनिएको छ। तर, औपचारिक रुपमा घोषणा भने गरेको छैन। यस सिजनदेखि आईपीएलमा दुई टोली अहमदाबाद र लखनउ गरि १० टोलीको सहभागीता रहने छ।
सन्दीपको सम्भावना
दिल्ली क्यापिटल्सले रिलिज गरेपछि नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने गत सिजन आईपीएल मिनी अक्सनमा बिक्रि भएका थिएनन्।अक्सनमा सन्दीपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए। यो पटक सन्दिपले कति बेस प्राइस राखेका छन् खुलेको छैन।
२०१८ मा २० लाख भारुमा बिक्रि भएपछि तीन सिजन दिल्लीमा रहेका उनले कुल ९ खेल खेल्दा १३ विकेट लिएका थिए। २०२० को सिजन बेन्चमै राखेपछि अर्को सिजन दिल्लीले उनलाई रिलीज गरेको थियो।
यो सिजन बिग बास लिगमा सुरुआत राम्रो नरहेता १४ खेलमा १४ विकेट लिएका छन्। त्यसैले यो पटक उनी आईपीएलमा बिक्लान नबिक्लान सबैको कौतुहलता छ।
बिग बासको प्रदर्शन पछि सन्दिपलाई लिन टिमहरुले इच्छा देखाउन सक्नेछन्। विश्वभर लिग खेलेको अनुभव पनि सन्दिपलाई लिने कारण बन्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।