काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ। कम्पनीले माघ ३ गतेदेखि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेको छ।
उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि आज (बिहीवार) सम्म रहेको भएपनि उक्त ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधि अर्थात् माघ १७ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामको ऋणपत्र निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।
कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने कम्पनी आफैंले व्यक्तिगत तवरबाट विक्री गर्ने कम्पनीले जानकारी दिएको छ।
सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। ८ वर्षे अवधिको उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।