काठमाडौं– सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
खरिद कार्यालयको बुधबार सम्पन्न बैठकले आजदेखि लागू हुनेगरी बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ। सडक पूर्वाधार विकास कार्यालय दाङको सिफारिसका आधारमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो।
यस्तै काठमाडौंको तारकेश्वर जगरपालिकाको सिफारिसमा बरदान कनसल्टेन्ट एण्ड कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखेको हो।
कालोसूचीमा परेका अन्य कम्क्पनीमा डाइग्नोकेम– जय शम्भु जेभी, ग्रीन टेक प्रोजेक्ट प्रालि, एस.एन.सी निर्माण सेवा, शाह निर्माण सेवा तथा आरोग्य कन्स्ट्रक्सन प्रालि रहेका छन्।
आरोग्यलाई ३ वर्षका लागि तथा डाइग्नोकेम– जय शम्भु जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ भने अन्य कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन्।
कालोसूचीमा परेका कम्पनीले एक वर्षसम्म सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।