काठमाडौं- अमेरिकाले रुसलाई युक्रेनसँग कूटनीतिक र शान्तिपूर्ण बाटो अपनाउन आह्वान गरेको छ। विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन भ्रमणका क्रममा रुसले छिट्टै युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएका थिए।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार रुसले युक्रेनको सिमानामा एक लाख सैनिक तैनाथ गरेको छ। यसैबीच अमेरिकाले रुसले आक्रमण गरे युक्रेनलाई सहयोग गर्ने बचन दिएको छ।
तर, रुसले बारम्बार आक्रमणको सम्भावनालाई अस्वीकार गर्दै आएको छ। बर्लिनमा अमेरिकाका युरोपेली सहयोगीहरूसँगको वार्तापछि ब्लिन्केनले शुक्रबार जेनेभामा रुसी विदेशमन्त्रीसँग भेट गर्नेछन्।
ब्लिन्केनको भ्रमण अघि अमेरिकी विदेश विभागका वरिष्ठ अधिकारीहरूले रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई जेनेभामा कूटनीतिक मार्ग अपनाउने विकल्प प्रस्ताव गर्न सक्ने संकेत दिएका छन्।
हालै रुसले पश्चिमी देशहरुबाट धेरै मागहरु राखेको छ, जसमा युक्रेनलाई कहिले पनि नाटोमा सामेल नहुने शर्त सबैभन्दा महत्वपूर्ण रहेको छ। केही मागहरू पूरा नभएपछि पश्चिमी देशहरू र रुसबीच गत हप्ता वार्ता असफल भएको थियो।
गत वर्षको अन्त्यमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएले नयाँ वर्षको सुरुआतमा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले आक्रमण गरे त्यसको नराम्रो परिणाम भोग्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।