काठमाडौं– नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले विज्ञप्ति निकालेर आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको हो।
भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २ अर्ब रुपैयाँ अपुग भएको विज्ञप्तिमा उल्लेख छ। निगमले माघ ८ गते गर्नुपर्ने भुक्तानीका लागि रकम अपुग भएको पनि जानकारी दिएको छ। यसको व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको निगमले जनाएको छ।
पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको र माघ १ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमले उक्त विज्ञप्तिमा जनाएको छ। मूल्य समायोजन गरिए पनि महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा रहेको निगमको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘आउँदो तीन महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न झण्डै १२ अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने छ। अहिले पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास प्रतिसिलिण्डर ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा रहेको छ। मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ ७३ पैसा नाफा छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।