काठमाडौं- सुडानमा करिब तीन महिनाअघि भएको सैन्य ‘कू’को विरोधमा सोमबार हजारौं नागरिकले प्रदर्शन गरेका छन्। ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रुग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन्।
सुडानको झण्डा बोकेका प्रदर्शनकारी राजधानी खार्तुमलगायत अन्य सहरमा भेला भएका थिए भने सुरक्षा अधिकारीहरू पनि ठूलो संख्यामा खटिएका थिए।
राजधानीको जुम्ल्याहा सहर ओमदुरमानका सावसान सलाहका अनुसार प्रदर्शनकारीहरूले कारको टायर जलाउँदै प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा उत्रिएका केहीले ‘कू’पछिको प्रदर्शनहरूमा मारिएका आफन्तहरुको तस्बिर बोकेका थिए।
शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले गत अक्टोबरमा सत्तापलटपछि सरकार विघटन गरेर देशभर संकटकाल घोषणा गरेका थिए।
त्यसपश्चात सेनाले अब्दुल्लाह हामदोकलाई नजरबन्दमा राखेपछि प्रदर्शन सुरु भएको थियो। यस क्रममा अहिलेसम्म कम्तिमा ६४ जनाको ज्यान गइसकेको छ भने सयौं घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।