काठमाडौं– कोरोना महामारीले बैंकिङ क्षेत्रमा नयाँ प्रविधिको विकासलाई सहयोग पुर्याएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार महामारी सुरु भएयता अनलाइन बैंकिङ कारोबार गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको थियो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्साल तरकारी तथा फलफूल बजारमा गत पुस १० गते क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत् हुने भुक्तानी कारोबारको सुरु गर्दै यसलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्ने धारणा व्यक्त गरेका थिए।
अभियान सुरु भएको १ वर्षमै क्यूआर कोडको प्रयोगबाट मासिक ५ देखि ६ अर्ब रुपैयाँसम्मको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। यसैगरी, मोबाइल वालेटबाट पनि मासिक १४ देखि १५ अर्बको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।
विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारको संख्या बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव अनलाइन सपिङमा पनि देखिएको छ।
मासिक रुपमा कारोबार संख्यामा केही घटबढ देखिएतापनि प्रतिमहिना ६० देखि ७५ हजार अनलाइन सपिङ कारोबार रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
मंसिर महिनामा कोड र वालेट भुक्तानीमा नयाँ रेकर्ड
मंसिर महिनामा क्यूआर कोड भुक्तानीमा १६ लाख ४९ हजार ३ सय ९७ वटा कारोबार भएको तथ्यांकले देखाएको छ। यसबाट ६ अर्ब २८ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
चालु आर्थिक वर्षको श्रावण महिना १२ लाख ९३ हजार ३ सय ४९ वटा कारोबार क्यूआर कोडमार्फत् भएकोमा पाँचौ महिनामा पुग्दा १६ लाख ४० हजार ३ सय ९७ वटा कारोबार भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।
चालु आर्थिक वर्ष सुरु भएदेखि नै क्यूआर कोडको कारोबार हरेक महिना १२ लाखभन्दा बढी पटक भएको छ। भदौ महिनामा १५ लाख ७७ हजार ५ सय ६१ पटक कारोबार भएकोमा असोज महिनामा घटेर १५ लाख १५ हजार ३ सय २९ पटक भएको थियो।
यस्तै, कार्तिक महिनामा झन घटेर १३ लाख ८७ हजार ५ सय ८४ पटक मात्र कारोबार भएको छ। विगत ५ महिनामा क्यूआर कोडबाट सबैभन्दा धेरै कारोबार मंसिर महिनामा भएको छ। मंसिर महिनाभरिमा ६ अर्ब २८ करोड २३ लाख रुपैयाँ बराबरको क्यूआर स्क्यान गरेर कारोबार भएको हो।
मंसिर महिनामा मोबाइल वालेटबाट मात्रै १५ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च कारोबार हो।
राष्ट्र बैंकका अनुसार मंसिरमा मात्रै मोबाइल वालेटबाट १ करोड ३० लाख ८८ हजार ५ सय ४३ वटा कारोबार भएको छ। जसमा १५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको हो।
बैंकहरुले डिजिटल भुक्तानीमा जोड दिन थालेपछि पछिल्लो समय क्यूआर कोड र मोबाइल वालेटबाट कारोबार झनझन बढिरहेको छ। चालु आर्थिक वर्षको साउन महिनामा वालेटबाट १४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा सो रकम पाँचौ महिनामा पुग्दा बढेर १५ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
वालेटको कारोबार संख्या भने खासै बढेको देखिएको छैन। चालु आर्थिक वर्षको प्रत्येक महिनामा औसतमा १ करोड ३० लाख कारोबार मोबाइल वालेटबाट भएको देखिन्छ। कारोबार औसतमा देखिए पनि कारोबार रकममा भने वृद्धि देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।