काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको २०७८/७९ को ६ महिना (साउन-पुस) को अवधिमा रु१३ अर्ब ५६ करोड राजस्व संकलन गरेको छ।
विमानस्थल भन्सार कार्यालका अनुसार यस अवधिको लागि कार्यालयलाई तोकिएको राजस्व असुली लक्ष्य रू ११ अर्ब ७२ करोड रहेको थियो। लक्ष्यको तुलनामा संकलित राजस्व ११५.७ प्रतिशत हुन आउँछ।
त्यसै गरी गत आव२०७७/७८ को प्रथम ६ महिनाको कार्यालयले गरेको राजस्व असुली ८ अर्ब ४ करोडको तुलनामा चालु वर्षको सोही अवधिको राजस्व असुली ६८.६ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।
पछिल्लो अवधिमा विशेषगरी विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्यांकनमा गरिएको सुधार एवम् यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाइलको प्रभावकारी नियमनले गर्दा नै राजस्व असुलीमा यस किसिमको सफलता प्राप्त हुन सकेको कार्यालयले जनाएको छ।
साथै कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्नका लागि कार्यालयले आयोजना गरेका विभिन्न तालिमको कारणले पनि उनीहरूको कार्यसम्पादनमा बढोत्तरी हुँदै गएको कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।