काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि विक्री खुला भएको छ। बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ८ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता भने व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सो ऋणपत्र खरिदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।