काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि भारतको इलाहाबादमा भक्तजनको संख्यामा कमी आएको छैन। शनिबार करिब तीन लाख मानिसले गंगामा स्नान छन्।
मेला क्षेत्रमा बिहानैदेखि बालबालिका, वृद्धवृद्धालगायत भक्तजनको घुइँचो लागेको मेला प्रशासनसँग सम्बन्धित एक अधिकारीले जानकारी दिए। दिउँसो २ बजेसम्म करिब ३ लाख मानिसले गंगा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
यसअघि शुक्रबार मकर संक्रान्तिको पर्वमा करिब साढे ६ लाख मानिसले गंगामा स्नान गरेका थिए। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सतर्कता अपनाइएको छ। २५ वटा कोभिड हेल्प डेस्क स्थापना गरिएको समाचारमा उल्लेख छ।
साथै आधिकारिक तथ्यांक अनुसार शनिबार दिउँसो १२ बजेसम्म मेलामा १ लाख २५ हजार मास्क वितरण गरिएको थियो। कोरोना संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा माघ मेला आयोजना गर्नु प्रशासनका लागि ठूलो चुनौती बनेको छ।
ड्युटीमा खटिएका धेरै प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। इलाहाबाद जिल्ला प्रशासनले मेलामा आउने सबैलाई आरटीपीसीआर रिपोर्ट अनिवार्य गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।