काठमाडौं– एसियाडको तयारीको शिलशिलामा नेपाल राष्ट्रिय बक्सिङ टोली बैदेशीक प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छन्।
बुधबार थाइल्यान्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापा, बक्सिङका भीष्म पितामह सुरेश सिंह आलेलगायतले विदाई गरे।
टिमले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्नेछन् । प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप(किङ्स कप) मा पनि सहभागिता जनाउनेछन् । च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुदैछ । किङ्स कपमा सहभागि हुने खेलाडीमा महिलातर्फ बिमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ तेज बहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, बिमल रोका ५६ केजी,एक बहादुर घले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै भुपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठ ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ । टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दिपक महर्जन, टिम व्यवस्थापकमा दिलिपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।
बिदाईका अवसरमा सदस्य सचिव केशव कुमार विष्टले एसियन गेम्समा पदकको आशा गरिएको खेललाई ३ महिना अघिबाटै विषेश प्रशिक्षण गराउन शुरु गरिएको बताउनुभयो । उहाँले विशेष प्रशिक्षण सबै खेललाई आवश्यक र महत्वपूर्ण रहेको बताउनु हुदै यसपटकको एसियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।