काठमाडौं– केही समयलाई नियन्त्रणमा आएर फेरि उकालो लागिरहेको कोरोना महामारीका कारण भारतीय सिनेक्षेत्र प्रभावमा परेको छ।
बलिउडसँगै भारतका अन्य क्षेत्रमा निर्माण भएका थुप्रै फिल्महरुले आफ्नो पूर्वनिर्धारित मितिमा प्रदर्शन नगर्ने घोषणा गरेका छन्। एकातिर सरकारले लागू गरेको मापदण्ड त अर्कातिर ओमिक्रोन संक्रमणको उच्च जोखिमका कारण बलिउडमा महंगा लगानीमा बनेका ‘आरआरआर’देखि ‘राधेश्याम’जस्ता थुप्रै फिल्महरु पोस्टपोन्ड भएका छन्।
बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आफ्नो पूर्वनिर्धारित मितिबाट पोस्टपोन्ड भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म जनवरी ७ मा प्रदर्शन हुने घोषणा गरिएको थियो। ४ सय करोड भारतीय रुपौयँमा निर्माण भएको फिल्म बढ्दो महामारीका कारण निर्धारित मितिमा प्रदर्शन नहुने चलचित्रको निर्माण पक्षले जनवरी १ मा जानकारी दिएको छ। यो फिल्ममा आलिया भट्ट, राम चरण, जुनियर एनटीआर, अजय देवगण लगायतका कलाकारको अभिनय रहेको छ। फिल्म ‘डीभीभी प्रोडक्सन्स’ले निर्माण गरेको छ। पोस्टपोन्ड भएको फिल्मको अबको प्रदर्शन मिति भने सार्वजनिक भएको छैन।
बलिउडको अर्को फिल्म ‘पृथ्वीराज’ पनि पोस्टपोन्ड भएको छ। अक्षय कुमार मुख्य भूमिकामा रहेको देशभक्ति विधाको यो फिल्म विवादमा पनि थियो। विवादका कारण पनि फिल्मलाई प्रदर्शन हुँदा समस्या हुनसक्ने अनुमान गरिएको थियो। भारतका राजपुतसँगै अन्य समूदायले फिल्मको नाम र कथावस्तुलाई लिएर आपत्ती जनाएका थिए।
तर, फिल्म प्रदर्शन हुनै पाएन। पूर्व निर्धारित मिति जनवरी २१ मा फिल्म प्रदर्शन हुन सकेन्। महामारीलाई मुख्य कारण देखाउँलदै फिल्मको निर्माण पक्षले यसलाई तत्काल प्रदर्शन नगर्ने घोषणा गरेको छ।
‘पृथ्वीराज’ मा अक्षय कुमार, मनुषी चिल्लर, सञ्जय दत्त, सोनु सुदलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई यश राज फिल्म्सले निर्माण गरेका हो भने फिल्मका निर्देशक चन्द्रप्रकाश द्विभेदी रहेका छन्।
निकै सफल रहेको दक्षिण भारतीय फिल्म ‘जर्सी’को हिन्दी रिमेकले पनि आफ्नो पूर्वनिर्धाति मितिबाट पोस्टपोन्ड हुनु परेको छ। शाहिद कपुर, मृणाल ठाकुर, पंकज त्रिपाठी, आरभ दुवालगायतका कलाकारको अभिनय रहेको फिल्म ‘जर्सी’ गत वर्ष अर्थात् २०२१ डिसेम्बर ३१ मा प्रदर्शन हुने घोषणा भएको थियो। तर, महामारीको बढ्दो प्रभावका कारण फिल्म पोस्टपोन्ड भएको छ। फिल्मलाई गौतम तिन्ननुरीले निर्देशन गरेका छन्।
यो महिनाको अन्तिममा प्रदर्शन हुने घोषणा भएको सकुन बात्रा निर्देशित फिल्म ‘गेहेराइयाँ’ पनि पोस्टपोन्ड भएको छ। दिपिका पादुकोण, अनन्या पाण्डे, सिद्धार्थ चतुर्वेदीलगायतका कलाकारको अभिनय रहेको फिल्म जनवरी २५ मा अमेजोन प्राइममा प्रदर्शन हुने घोषणा भएको थिया। तर, पोस्टपोन्ड भएपछि भने फिल्म फेब्रुअरी ११ मा प्रदर्शन हुने भएको छ।
पोस्टपोन्ड हुने फिल्महरुको सूचीमा अर्को बहुप्रतिक्षित हिन्दी सिनेमा ‘राधे श्याम’ पनि रहेको छ। प्रभास र पुजा हेग्दे मुख्य भूमिकामा रहेको फिल्म जनवरी १४ मा प्रदर्शन हुने घोषणा भएको थियो।
३ सय ५० करोड भारतीय रुपैयाँमा निर्माण भएको फिल्म ओमिक्रोन र महामारीको डरका कारण पोस्टपोन्ड हुन पुग्यो। निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति भने घोषणा गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।