काठमाडौं- विश्वप्रतिष्ठित फिल्म महोत्सव ‘रोट्रेड्याम फिल्म फेस्टिभल’मा छनोट भएको नेपाली फिल्म 'बाघथान’को ट्रेलर सार्वजनिक भएको छ। सुनिल पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत् सार्वजनिक भएको हो।
ट्रेलरमा फिल्मको धुमिल पृष्ठभूमिमा सपनामा ईश्वर आएको प्रसंग देखाइएको छ। फिल्मको पात्रले गरिरहेको ‘भ्वाइस ओभर’मा साढे एक मिनेटको ट्रेलर प्रस्तुत छ।
आइसफल प्रोडक्सन र सिमल सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्ममा बसाइँसराइको कथालाई देखाइएको छ। २० मिनेट अवधिको फिल्म ‘रोट्रेड्याम फिल्म फेस्टिभल’मा लघु चलचित्र र मध्यम अवधिका फिल्महरुले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
फिल्मलाई रामकृष्ण पोखरेलले लगानी गरेका छन्। चन्द्रबहादुर खत्री, शिशिर भण्डारी, मीना पाण्डे, मनिषा पाण्डे, अमर खत्रीलगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ। फिल्ममा शरद महतोको सिनेमेटोग्राफी, किशोर आचार्यको ध्वनी, कपिल पराजुलीको रंग संयोजन तथा पासाङदावा शेर्पा र निर्देशक पाण्डेकै सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।