काठमाडौं- सरकारमै रहेर माओवादी केन्द्रले विपक्षी नेकपा एमालेसँग वामपन्थी गठबन्धन बनाएसँगै देउवा सरकार अल्पमतमा परेको चर्चा चल्न थालेको छ । तर, अहिलेको अवस्थामा केही गरी माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि त्यसबाट सरकार नडगमगाउने देखिएको छ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले गठनको तयारी गरिरहेको लोकतान्त्रिक गठबन्धनमा तीन सयभन्दा धेरै सांसद रहेको देखिएको छ । सरकारका निर्माणका लागि २ सय ९६ सांसद आवश्यक हुन्छ । त्यसका लागि माओवादी र एमाले बाहिरै रहे पनि पुग्ने देखिन्छ।
वामपन्थी गठबन्धन निर्माणपछि बुधबार मात्रै बालुवाटारमा भएको छलफलमा सरकार बाहिर रहेका राप्रपा, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम एकजुट भएपछि सरकार बहुमतमै देखिएको हो । यद्यपि माओवादीले आफू सरकारबाट बाहिरिएको घोषणा भने हालसम्म गरेको छैन।
प्रधानमन्त्री देउवाले निर्वाचनपछिसम्म लोकतान्त्रिक गठबन्धन रहने रणनीति बनाउँदै वामपन्थी शक्तिलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउनबाट रोक्न राप्रपा, राजपा लगायत दलहरुसँग सहयोग मागेका थिए । देउवाको सो आग्रहलाई सकारात्मक रुपमा लिँदै चुनावी रणनीति तय गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।
संसदमा अहिले कुल ५ सय ९१ सांसद छन् । संसद्को बहुमत हासिल गर्न २ सय ९६ सांसद आवश्यक पर्छ । सरकारको नेतृत्वकर्ता कांग्रेससँग २ सय ७ सांसद छन् । बुधबार लोकतान्त्रिक गठबन्धन बनाएका दलहरु समेत गरेर लोकतान्त्रिक गठबन्धनको पक्षमा स्पष्ट बहुमत देखिन्छ।
संसदमा राजपाका २५, राप्रपाका १९, राप्रपा प्रजातान्त्रिकका १८, लोकतान्त्रिक फोरमका १८ र संघीय समाजवादी फोरमका १५ सांसद छन् । यी दलको कुल संख्या ३ सय २ हुन्छ । लोकतान्त्रिक गठबन्धनमा सामेल नभए पनि नेमकिपाले समेत सरकारलाई समर्थन गर्ने कांग्रेसको दाबी छ।
वामपन्थी गठबन्धन अल्पमतमा ?
संसदमा नेकपा एमालेका १ सय ८१ सांसद छन् । माओवादी केन्द्रका ८१ र नयाँ शक्तिका एक मात्र सांसद छन् । तीन दलका गरी जम्मा २६३ जना सांसद छन्।
वामपन्थी निकट भए पनि उक्त गठबन्धनलाई नेकपा मालेका ५, नेमकिपाका ४ तथा राष्ट्रिय जनमोर्चा र परिवार दलका २ सांसदले हालसम्म समर्थनको घोषणा गरेका छैनन् । यस अनुसार उनीहरुले सरकार ढालेर नयाँ बनाउन बहुमत नपुग्ने देखिन्छ । बहुमत पुर्याउन वामपन्थी गठबन्धनले थप १९ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ।
संसदमा रहेका केही साना दल भने कुन कित्तामा लाग्ने भनेर अझैसम्म खुलेका छैनन् । वामपन्थी गठबन्धनलाई बहुमत पुर्या उन राप्रपा या संघीय समाजवादी फोरमको समर्थन आवश्यक पर्छ । तर, यी दुवै दल लोकतान्त्रिक गठबन्धनमा राजी भइसकेकाले अर्को चमत्कार नभए वामपन्थी गठबन्धनले बहुमत जुटाउन कठिन पर्ने देखिन्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।