काठमाडौं– मानिलिनुस, तपाईंको सामुन्ने लाखौं रङहरूको कुरा भइरहेको छ। तर, तपाईंले देख्ने दृश्यमा रङ नै देखिँदैन। दृश्यहरू सादा रङमा छन्। तर, तपाईंले सुनिरहेको अभिव्यक्तिमा फरक रङहरूको फरक विशेषताको व्याख्या भइरहेको छ।
फरक रङहरू फरक धर्म, विचार र नश्लका रङ हुन्। तर, सादा दृश्यमा सबै समान देखिन्छन्।
भारतीय निर्देशक पद्यकुमार नरसिम्हमुर्तीको सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘अ बिलियन कलर स्टोरी’मा यिनै विषय प्रस्तुत गरिएको छ। निर्देशक मुर्तीले एउटा बालसुलभ आँखाबाट समाजमा भएको विभेद र भेदभावविरुद्ध रङको माध्यमबाट आवाज उठाएका छन्। धार्मिक साहिष्णुताको पक्षमा मुर्तीले गरेको वकालत सिनेमाको ‘ब्ल्याक एण्ड वाइट’ रङमा प्रस्तुत भएको छ।
सिनेमाको मूल पात्र हरि हजिज (निर्देशक पद्यकुमार नरसिम्हमुर्तीका छोरा ध्रुव पद्यकुमार अभिनित) मुस्लिम बुबा र हिन्दू आमाको एक मात्र सन्तान हुन्। उनका बुबा इमरान अजिज (गौरव शर्मा अभिनित) र आमा पार्वती अजिज (भासुकी) फिल्म क्षेत्रमा संघर्ष गरिरहेका छन्। अष्ट्रलियाबाट पढेर आएका उनीहरू भारतलाई रङ नै रङले सम्पन्न देशहरूको रुपमा हेर्छन्। संसारमा कतै पनि नमनाइने चाड होलीदेखि थरिथरिका मिष्ठान्नमा हुने रङसम्मका विषयमार्फत उनीहरू सहिष्णुताको कुरा गर्छन्। यसबीच एक मुस्लिम पुरुष र हिन्दू महिलाबीचको विवाहमार्फत पनि उनीहरूको विचार दृश्यमा देखाइएको छ।
इमरान र पार्वती आशावादी सोचका छन्। उनीहरू मान्छेबीचको समानतालाई महत्व दिन्छन्। सबैभन्दा ठूलो धर्म उनीहरूका लागि मानवता हो। कुनै देशमा फैलिरहेको दंगा होस् वा आफ्नै देशमा कुनै धार्मिक अल्पसंख्यकमाथि भएको अन्याय, त्यसलाई लिएर उनीहरू दुःखी हुन्छन्। फिल्मको दृश्यमा जस्तै उनीहरू समाज समान होस् भन्ने चाहन्छन्। यही समानता उनीहरू आफ्नो फिल्ममा पनि देखाउने सोच लिएर हिँडेका हुन्छन्।
हरि बुबा र आमाको समानताको सोचबीच हुर्किएका छन्। तर, समाज त्यस्तो छैन। फिल्म क्षेत्रमा संघर्ष गरिरहेका उनीहरूले संघर्षका थुप्रै सिँढी उक्लिनु छ। आफूले चुनेको क्षेत्रमा केही गर्ने सोच र आफ्नो काममार्फत समाजको समानताको अवस्थालाई चित्रण गर्ने ध्येयले उनीहरू घर बेच्नेदेखि छोरालाई स्कुलबाट छुटाएर घरमै पढाउने सम्मको अवस्थामा पुग्छन्।
तर, सामाजिक मान्यता उनीहरूको सोचअनुसारको छैन। इमरान मुस्लिम भएकै कारण हिन्दू समुदायमा बहालमा बस्न पाउँदैन। मुस्लिम समुदायमा पाएको बहालको घरमा बस्दै गर्दा फेरि श्रीमती पार्वतीले लगाउने पोशाकदेखि उनीहरूको रहनसहनको विषय बाधक बन्छ। उनीहरू समाज तलाउजस्तो होस् भन्ने चाहन्छन्। शान्त, समान, स्थिर र भेदभावविहीन। तर, समाज पहाडबाट बहिरहेको नदिजस्तो बनिदिन्छ। अनेकौं पत्थरहरूबीचको संघर्षपूर्ण यात्रासँगै असमान सतहजस्तो। हिन्दू र मुस्लिमबीचको भेदभावले उनीहरूलाई घर न घाटको बनाउन पुग्छ।
अवस्था नाजुक बन्दै जान्छ। समाज झनझन् विभेदपूर्ण बन्छ। यसबीच इमरान र पार्वती एउटा यस्तो फिल्म बनाउने सोचमा पुग्छन्, जसले समानताको वकालत गरोस्। समाजमा बढ्दै गएको धार्मिक द्वन्द्व र असहिष्णुताबीच उनीहरू भारतीय इतिहासको एउटा कालखण्डको कथा भनेर समानताको तस्बिर सबै सामुन्ने झल्काउन खोज्छन्। तर, यो प्रयासले दुईको जीवनबाट सबैभन्दा प्रिय हरिलाई छुटाइदिन्छ। धार्मिक विषयमा फिल्म बनाउने सोच लिएर हिँडेका उनीहरू धार्मिक अतिवादीहरूकै शिकार बन्छन्। जसको परिणाम आफ्नो छोराको ज्यान गुमाउनु हुन्छ।
भाषा र रङले देखाएको समानता
फिल्मको नाम छ, ‘अ बिलियन कलर स्टोरी’ अर्थात करोडौं रङहरूको कथा। निर्देशक मुर्तीको यो डेब्यु फिल्म हो। फिल्मको नाममा रङहरूको कुरा गरे पनि फिल्मको उत्तरार्ध पुग्नुअघि कतै पनि रङको प्रयोग भएको छैन। सादा अर्थात् ब्ल्याक एण्ड ह्वाइटमा फिल्म खिचिएको छ।
फिल्ममा समाजमा भएका विभिन्न धर्मलाई रङहरूसँग जोडिएको छ। एउटा बालसुलभ आँखाका लागि ती रङहरूले धेरै महत्व राख्दैनन्। ऊ एक मुस्लिम बुबा र हिन्दू आमाको सन्तान हुन्छ। परिवारका अन्य आफन्त, समाज, साथीभाइलगायतले समाजमा स्थापित धार्मिक मान्यताको आधारमा व्यवहार गरे पनि ऊ भने सबैतर्फ समान रुपले हेरिरहन्छ।
‘मेरो बुबा मुस्लिम हो, आमा हिन्दू हुन् र हामी क्रिसमस मनाउँछौं’ फिल्मको एक भागमा हरिले बोलेको संवादमा भनिएको छ।
‘अ बिलियन कलर स्टोरी’को अधिकांश भागमा प्रयोग भएका दुई रङ, कालो र सेतोलाई समाजको चित्रण गर्ने बिम्ब बनाइएको छ। यी रङ समानताको अर्थमा प्रयोग भएका छन्। तर, मान्छेहरूको विचार परिवर्तनका लागि गर्नुपर्ने संघर्षको कथा बेग्लै छ।
हरिको दृष्टिकोणमा संसार ब्ल्याक एण्ड ह्वाइट छ। किनकी ऊ ठूलाले जस्तो अनेक कुरासँग रङहरू जोडेर हेर्दैन। उसले समाजमा जकडिएको मूल्य र मान्यताको आधारमा रङहरूलाई समाजमा विविध पक्षसँग जोडेर हेर्न सिकेको छैन।
हरिको दृष्टिकोणमा संसार ब्ल्याक एण्ड ह्वाइट छ। किनकी ऊ ठूलाले जस्तो अनेक कुरासँग रङहरू जोडेर हेर्दैन। उसले समाजमा जकडिएको मूल्य र मान्यताको आधारमा रङहरूलाई समाजमा विविध पक्षसँग जोडेर हेर्न सिकेको छैन।
फिल्मको उत्तरार्धमा जब बुबाको बुई चढ्न खोजिरहेको हुन्छ, उनीमाथि गोली प्रहार हुन्छ। त्यसपछि मात्रै फिल्ममा अन्य रङ देखाइन्छ। एउटा अबोध बालकको अनाहकमा भएको मृत्युले समाजमा बनेको धार्मिक असहिष्णुताले फिल्ममा रङहरू छरिदिन्छ। जबसम्म हरि जीवित थियो, तबसम्म उसको प्रयास र उसको सोच समानताकै पक्षमा थियो। तर, उसको मृत्युसँगै त्यो सोच र प्रयास केवल ‘सोच’ र ‘प्रयास’मा मात्रै सीमित हुन्छ। समाजको अन्धकार झन् व्याप्त हुन्छ।
ब्ल्याक एण्ड ह्वाइट रङजस्तै फिल्ममा प्रयोग गरिएको भाषाले पनि समानताको वकालत गरेको छ। सिनेमामा सबै जसो ठाउँमा अंग्रेजी भाषाको प्रयोग भएको छ। अमेरिकाबाट पढेर फर्किएका इमरान र पार्वती मात्रै नभएर उनीहरूका साथीभाइदेखि आफन्तसम्म अंग्रेजीमै संवाद गर्छन्। केही ठाउँमा मात्रै हिन्दीको प्रयोग गरिएको छ।
सुन्दै र गर्दै आएका अनेक तर्क छाडिदिने हो भने अंंग्रेजी भाषामा हरेकलाई समान रुपमा सम्बोधन गरिन्छ। सिनेमामा निर्देशक मुर्तीले भाषाको छनोटमार्फत पनि समानताको वकालत गर्न खोजेका छन्।
एउटा मानिस कुनै पनि राष्ट्र, धर्म, संकृति र वर्णजस्ता कुरामा जाडिनुअघि एउटा मानिसको रुपमा हुन्छ भन्ने सरल धारणालाई फिल्ममा प्रस्तुत गरिएको छ। विविधताबीच साहिष्णुताको खोजीमा फिल्म घुमेको छ। मान्छे र मान्छेबीच विभाजनको चेतना ल्याउने धर्म, नश्ल, जात, वर्गजस्ता कुराले दमन र अन्यायको मात्रै प्रोत्साहन गरिरहन्छन्। असहिष्णुता र पूर्वाग्रहले नित्याउने विकराल अवस्थालाई फिल्मले चित्रण गरेको छ।
फिल्मको मूल पात्र हरि सिनेमाको सुरुवातमै आफूलाई ‘हरियो र केसर’ रङको संयोजनको रूप भएको बताउँछ। कारण, उनका बुबा दुई जातका हुन्छन्। यद्यपि, साम्प्रादायिक र धार्मिक विभेदका बीच समानताको पक्ष र प्रतीकको रुपमा रहेको हरिको अस्तित्वलाई त्यही विभेदले निमिट्यान्न पार्छ। जसले समाजलाई समानताभन्दा पनि असहिष्णुता र विभेदमै अघि बढिरहेको र मान्छेहरू अन्धकारतर्फ नै फर्किरहेको देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।