काठमाडौं- बढ्दो कोरोना महामारी र ओमिक्रोन भेरियन्टको त्रासबीच २०२२ को ‘सेनडेन्स फिल्म महोत्सव’ भर्चुअल रुपमा हुने भएको छ।
फिल्म आयोजक कमिटीले ट्विटरमार्फत् दिएको जानकारीअनुसार महामारी निरन्तर बढ्दै गएकाले २०२२ को महोत्सवलाई भर्चुअल रुपमा गर्ने निर्णय भएको हो।
‘हामीसँग कुनै विकल्प थिएन,’ महोत्सवको वेबसाइटमा सेनडेन्स इन्स्टिच्युटकी प्रमुख जोना भिन्सेन्ट र महोत्सवका निर्देशक तबिथा ज्याक्सनले संयुक्त रुपमा भनेका छन्, ‘बढिरहेको संक्रमणलाई ध्यानमा राख्दै हामी डिजिटलरुपमा महोत्सव गर्ने निर्णयमा पुगेका छौं।’
वर्ष दिनदेखि गरिरहेको तयारीबीच अचानक महामारीको असर पर्दा महोत्सवलाई भर्चुअल गर्नुपरेकोमा आयोजक संस्थाले माफीसमेत मागेको छ। भर्चुअल रुपमा हुने महोत्सवमा पनि भौतिक रुपमा जस्तै दर्शकको उपस्थिति हुने र नयाँ सिनेमाहरुको स्वाद लिन सकिने बताइएको छ।
स्थगित भएको महोत्सव यसअघि २० जनवरी २०२२ देखि ३० जनवरी २०२२ सम्म हुने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।