काठमाडौं– गत साता शुक्रबारबाट प्रदर्शनमा आएको हरर विधाको नेपाली फिल्म ‘कठपुतली’ले फिल्म हेर्नेलाई ‘आइफोन १२’ उपहारमा दिने घोषणा गरेको छ। फिल्मको निर्माण पक्षले सामाजिक सञ्जालमार्फत हलमा फिल्म हेरेको टिकटसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर यो प्रतिस्पर्धामा भाग लिन सक्ने जनाएका छन्।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ। दर्शकको चाप सिनेमा हलमा देखिएको छ भने समीक्षकहरुले फिल्मलाई कमजोर प्रतिक्रिया दिइरहेका छन्। यसबीच फिल्मको निर्माण पक्षले भने सिनेमाको प्रचारकेन्द्रित भएर फिल्म हेरेको टिकटसहित फोटो सामाजिक सञ्जालमा राखेमा ‘आइफोन १२’ जित्न सक्ने प्रतिस्पर्धाको घोषणा गरेको छ।
फिल्मको निर्माण पक्षका अनुसार कठपुतलीको टिकटसँगको सेल्फी सामाजिक सञ्जालमा हालेर प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। एक जनाले एउटा टिकटसँगको फोटो राखेर कठपुतली सिनेमाको सामाजिक सञ्जाललाई ट्याग गरी प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। प्रतिस्पर्धामार्फत विजेताको घोषणा आगामी फेब्रुअरी १ मा हुने बताइएको छ।
‘कठपुतली’ लघुचलचित्रमार्फत निर्देशनमा प्रवेश गरेका भीमसेन लामाको डेभ्यु फिचर फिल्म हो। फिल्मलाई पृथ्वी रानाले निर्माण गरेका छन्। उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, कर्मा शाक्यलगायत कलाकारको यो फिल्ममा मुख्य भूमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।