काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जनको फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा तीन सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। डिसेम्बर १७ मा प्रदर्शनमा आएको फिल्मले मंगलबारसम्मको व्यापारबाट तीन सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।
सुकुमारको निर्देशनमा बनेको फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दना प्रमुख भूमिकामा छन्। भारतमा हाल बढ्दो कोरोना संक्रमणका कारण अन्य फिल्मको प्रदर्शन रोकिएको फाइदासमेत पुष्पालाई भएको छ। जसको परिणामस्वरुप दक्षिण भारतीय सिनेमामा स्थापित अल्लू अर्जून हिन्दी दर्शकका लागि पनि चर्चित भएका छन्। भारतीय सञ्चारमाध्यमकाअनुसार बक्स अफिसमा पुष्पाको हिन्दी भर्जनले मात्रै ६२.९४ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
मलयालमसँगै तमिल, कन्नडा र हिन्दी भाषामा प्रदर्शनमा आएको फिल्मले समीक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको छ। फिल्मको कथा सुकुमारले नै लेखेका हुन्। फिल्मलाई नविन येरनेनी र य.रवि शंकरले संयुक्त रुपमा निर्माण गरेका छन्। पुष्पाले भारतसँगै नेपालमा पनि राम्रो व्यापार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।