काठमाडौं– बलिउडको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को प्रदर्शन मिति सरेको छ। भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले एक विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
एसएस राजामौलीको फिल्म आरआरआर ७ जनवरीमा प्रदर्शन हुने घोषणा भएको थियो। निकै ठूलो लगानीमा दक्षिण भारतीय सुपरस्टार जुनियर एनटिआर, राम चरणसँगै बलिउड अभिनेता अजय देवगनलगायतको अभिनय भएको फिल्म पछिल्लो समय निकै प्रतिक्षारत थियो। तर, निरन्तर बढिरहेको महामारीका कारण फिल्म हेर्न दर्शकले थप समय कुर्नुपर्ने भएको छ। निर्धारित प्रदर्शन मितिबाट पछि सरेको फिल्म अब कहिले प्रदर्शन हुन्छ भन्नेबारेमा आगामी दिनमा बताउने फिल्मको निर्माण पक्षले जनाएको छ।
हाल भारतमा बढिरहेको कोरोना महामारीका कारण प्रदर्शन मिति सरेको यो दोस्रो फिल्म हो। यसअघि शाहिद कपुर अभिनित ‘जर्सी’ पनि महामारीका कारण प्रदर्शनबाट पछि हटेको थियो।
हाल भारतमा संक्रमण बढेसँगै महाराष्ट्र, तमिलनाडु, आन्ध्र प्रदेशलगायतका क्षेत्रमा ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने अनुमति दिइएको छ। यस्तोमा ४ सय करोड लगानी भएको फिल्म आरआरआरलाई जोखिम हुने भन्दै निर्माण पक्षले फिल्मलाई पछि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।